सरकारले इसाईकरणलाई प्रोत्साहन गरेकोमा कांग्रेसको आपत्ति, आफ्नै प्रचार गरेकोमा ओलीको अलोचना

काठमाडौं । दक्षिण एसिया प्यासिफिक सम्मेलनमा सरकारले संविधानको भावनाविपरीत सरकारले इसाईकरणलाई प्रोत्साहन गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारिक रुपमै भर्त्सना गरेको छ। कांग्रेसको जारी केन्द्रीय समिति बैठकद्वारा आपत्ति प्रकट गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

आइतबारको आकस्मिक पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने– ‘खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट तथा साधनको प्रयोग हुनु संविधानको मर्म र भावना विपरीत रहेको हाम्रो ठहर छ । नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम सरकारद्वारा अघि बढाइनु आफ्नो पार्टीले सुखद र सकारात्मक रूपमा लिएको नेपाली कांग्रेसले जनाएको छ । तर यसको कार्यान्वयन प्रक्रिया प्रवेश क्रमको प्रचारशैली भने अनावश्यक र भड्किलो भएको ठहर नेपाली कांग्रेसले गरेको छ ।

आइतबार पारित निणर्यमा भनिएको छ, ‘सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसद्मा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ । तर मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको तस्बिर सहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ ।’