तनाव: स्वास्थ्यको शत्रु !

तनावले वैवाहिक सम्बन्धमा अरुची, निराशा र कुन्ठा उत्पन्न हुन्छ, जसले दाम्पत्य जीवन नै निरश बनाइदिन्छ

० डा ललितकुमार मिश्र

स्वास्थ्य र दीर्घ जीवनको लागि मनको स्वास्थ्य अति आवश्यक छ । यही बुझेर होला हाम्रा पितापुर्खाहरुले पनि प्रायः प्रसन्न रहनु, खुशी हुनु भन्दै आशिर्वाद दिन्थे । यो आशिर्वादको क्रम अहिले पनि जारी छ ।

मन प्रसन्न छ भने जीवनका अरु पक्षहरु पनि सहज र स्वभाबिक लाग्छन । र पनि आहार, बिहार, विचार, व्यवहार र संस्कारका कारण अचेल प्रसन्नचित्त अनुहार बिरलै देखिन्छ । अचेल धैरैजसो मानिसको अनुहारमा तनाव झल्किनछ ।

शरीरमा रासायनिक परिवर्तन
हाम्रो कर्म या ब्यवहारले मनमा जुन प्रकारको संवेगहरु उतपन्न हुन्छ, यसले शरीरमा रासायनिक (हारमोन्स) परिवर्तन ल्याउँछ । यही परिवर्तनका कारण हाम्रो मनमा उत्पन्न हुने असुरक्षाको भावना, डर, त्रास, भय, निराशा, ऊद्देगपन, कुन्ठा र दुःख आदि नै मानसिक तनावको पर्याय हो । तनाव हाम्रो मनको एक अवस्था हो । कहिले यो वास्तविक हुन्छ भने कहिले तनाव काल्पनिक पनि हुन्छ ।

मानसिक तनावले जीवनमा बिभिन्न किसमले प्रभाव पार्छ । मानसिक तनावलाई उच्च रक्तचाप, सुगर, मुटुकोरोग, मोटोपना, विभिन्न प्रकारको एलर्जी, माईग्रेन, अर्थराईटिस, थायरायड, एसिडिटि, पेटको रोग र क्यान्सरसम्मको कारण मानिन्छ । आयुर्वेद, होमियोप्याथी, युनानी चिकित्सामा तनावलाई उद्वेग (ईम्पलसिभ) भनिएको छ ।

स्वस्थ्य हुनुको मतलब केवल रोगबाट मुक्त हुनु होइन । व्यक्ति शारीरिक, मानसिक एवं सामाजिक रुपमा पनि स्वस्थ्य हुनुका साथै मन प्रसन्न हुनु पर्छ । कुनै प्रकारको उद्वेगले शरीरमा बाथ दोष बढन जान्छ । शरीरमा बाथदोष हुनलाई राम्रो मानिदैन । वाथदोषको प्रकोप बढनाले अन्य तत्वहरुमा पनि प्रतिकूल प्रभाव पर्दछ । जसको फलस्वरु अनेक रोग उत्पन्न हुन्छन ।

वैवाहिक र व्यबसायिक जीवन
आफ्नो वैवाहिक तथा व्यबसायिक जीवनमा हामी जोसँग जोडिएका हुन्छौँ । विभिन्न परिस्थितिमा यिनीहरुको व्यबहार एकसमान हुँदैन । एक अर्काप्रति कहिले प्रेम त कहिले घृणाको भाव मनमा उत्पन्न हुन्छ । यदि हाम्रो पारस्परिक सम्बन्ध या व्यबहार नकारात्मक छ भने त्यसले तनाब उत्पन्न हुन्छ ।

वैवाहिक संबन्धमा प्रायः गरी बाहिरी कारणले तनाव उत्पन्न हुन्छ । जसले गर्दा वैवाहिक बन्धन उत्साह र उमंगलाई कम गराइदिन्छ । यसबाट शारीरिक सम्बन्धमा शिथिलता ल्याउँछ । तनावग्रस्त दम्पति समाजिक स्तरबाट पनि आफूलाई उपेक्षित महसुस गर्दछन । कार्यक्षेत्रको तनाब घरमा प्रवेश गर्नाले गृहस्थजीवनको आनन्द, सुख एवं संमृद्धि पनि नष्ट हुन सक्छ ।

‘तनावले गर्दा वैवाहिक सम्बन्धमा अरुची, निराशा या कुन्ठित भावना उत्पन्न हुनजान्छ । फलस्वरुप दम्पति आफ्नो वैवाहिक जीवनको आनन्द लिन पाउँदैन । बिस्तारै – विस्तारै यिनीहरुको आपसी सम्बन्धमा फाटो आउन थाल्छ । पारीवारिक जीवन कष्टप्रद लाग्नथाल्छ ।’

तनावले गर्दा वैवाहिक सम्बन्धमा अरुची, निराशा या कुन्ठित भावना उत्पन्न हुनजान्छ । फलस्वरुप दम्पति आफ्नो वैवाहिक जीवनको आनन्द लिन पाउँदैन । बिस्तारै – विस्तारै यिनीहरुको आपसी सम्बन्धमा फाटो आउन थाल्छ । पारीवारिक जीवन कष्टप्रद लाग्नथाल्छ । कार्यस्थल या व्यवसायिक जीवनमा हुने घटनाक्रमको पनि प्रतिकुल प्रभाव हाम्रो मनमा पर्दछ ।

व्यवहारिक सम्बन्ध र व्यक्ति विशेषका अनुसार बदलिदो भावना र ब्यवहारले पनि मनमा एक किसिमको तरंग सिर्जना हुन्छ । यदि अफिसमा कुनै व्यक्तिकाप्रति हाम्रो मैत्रीभाव या इश्र्या वा नकारात्मक भाव छ भने हाम्रो मन बढी नाकारात्मक संवेगले नै भरिएको हुन्छ । अफिसको आवश्यक कार्य गर्नुपर्ने र समयको कमीले गर्दा अत्यधिक कामको तनावले पनि कामको गुणवत्तालाई प्रभावित गर्दछ ।

एउटा प्रसन्नचित्त व्यक्ति कुनै कार्यलाई जनि राम्रोसँग गर्न सक्छ, तनावग्रस्त व्यक्ति त्यति राम्रोसँग गर्न सक्दैन । यसरी लगातार तनावग्रस्त रहनाले कामको क्वालिटीमा पनि असर पर्छ । यस्तो तनाव मानसिक र शारीरिक स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ ।

जो व्यक्ति लगातार मानसिक तनावबाट ग्रस्त रहन्छ उनीहरुको प्रकृति दुई खालको हुन्छ । उनीहरु या त तनावलाई फेस गर्छन या पलायन हुन्छन । यी दुबै परिस्थितिमा शरीरलाई अतिरिक्त उर्जाको आवश्यकता पर्छ । यही कारण हो कि यस्ता व्यक्तिहरुको रगतमा चिनीको मात्रा बढनुका साथे प्रेसर पनि घटबढ भइरहन्छ ।

बिस्तारै शरीरको यो बानी जस्तै हुनजान्छ । अचेल लगभग हरेक रोगको मुल कारण यही बानीव्यहोरा हो । आधुनिक चिकित्सा विज्ञानको शोध–अध्यनले पनि यो कुराको पुष्टि गर्छ ।

तनावबाट राहत कसरी
० तनाव उत्पन्न गराउने कारकतत्वबाट टाढा नै बस्ने कोसिस गर्नुपर्छ ।

० सम्भवतः शान्त भएर बस्ने प्रयास गर्ने ।

० यदि तनाव अवान्छित छ र त्यसलाई पन्छयाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने ।

० दुःख या आवेगपूर्ण परिस्थितिमा पनि धैर्य राख्ने प्रयास गर्नुपर्छ ।

० परस्पर विचार विमर्शको माध्यमले मनभित्र दबिएर बसेका भावनालाई बाहिर निकाल्नुपर्छ ।

० खुशी र आनन्दपूर्वक वातावरणमा बस्ने ।

० गहिरो स्वाँस लिने–छोडने र नियमित प्राणायाम गर्ने ।

० प्रत्येक दिन योगाभ्यासका साथै कमसे कम ३० मिनेट ध्यान, साधना गर्ने ।

ऊपचार
रोगको मानसिक एवं शारीरिक लक्षणलाई मध्येनजर गरेर उपयुक्त होमियोप्याथिक औषधिको सेवन तन र मनको स्वास्थ्यका लागि लाभदायक हुन्छ । यस्ता औषधिहरुको सेवन चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ ।

mishradr.lk@gmail.com