‘मौद्रिक नीति राम्रो आयो, कार्यान्वयनमा ध्यान दिनुपर्छ’

काठमाडौं । पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले हिजो ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो आएको बताए । उनले यसको कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताए ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्र पनि उत्साही भएको दावी गरे । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको टिप्पणी छ । साक्षात्कारमा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारी आफैं राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिए ।

भने, ‘जुन स्पिरिटमा यो मौद्रिक नीति ल्याईएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन हुनुपर्छ । होईन भने जति राम्रो ल्याएपनि यसको अर्थ हुँदैन् ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले राम्रो फिल भएको स्पष्ट पारेका छन् । उनले भने, ‘मौद्रिक नीतिले राम्रो प्रभाव दिने अनुमान गरेका छौं ।’ उनले मौद्रिक नीतिमार्फत बैकिंङ सेवा शुल्क घटाईएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै स्वागत गरे । भने, ‘मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ । अब कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्छ । यसको लागि तुरुन्तै निर्देशिका आउनुपर्छ ।’

लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या भएको बताउँदै उनले ब्याज सिंगल डिजिटमा ल्याउनुपर्छ भनेर आफूहरुले पनि भनेको बताए । उनले उद्योग वाणिज्य महासंघ र चेम्बरका साथीहरुलाई स्प्रेडदर घटाईदिनुहोस भनेर बोलेको कुरा अलिकति नमिल्दोजस्तो आभाष भएको बताए । उनले बैंक नबाचे व्यवसाय पनि नबाँच्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिए । भने, ‘यो नीतिले सबैको चित्त बुझाउने प्रयास गरेको छ । हामी खुशी छौं ।’ उनले निजी क्षेत्रले मागेको भन्दा राम्रो नीति आएको दावी गरे । पूर्नकर्जा अत्यन्तै राम्रो आएको र ऋणको ब्याज तिर्न ६ महिनादेखि दुई वर्षसम्म समय दिईनु सकारात्मक भएको उनको भनाइ छ ।

अग्रवालले भने, ‘ब्याज र कर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो । हामी यसको प्रशंसा गर्छौं ।’

अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग गरेको आरोप लगाए । उनले भने, ‘मौद्रिक नीतिमा हामीलाई सौताको छोराको रुपमा हेरियो । हाम्रा माग र सुझावहरु सम्बोधन भएको छैन् ।’

राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठिक विपरित कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याइएको सोही नीतिलाई नै निरन्तरता दिएको भन्दै अध्यक्ष दुलालले दुखेसो पोखे ।

उनले भने, ‘यो मौद्रिक नीतिले सबै क्षेत्रलाई सम्बोधन गर्यो तर हाम्रो भने डाउन पेमेन्ट १० प्रतिशत बनाउने एउटा मात्र सुझावको पनि सम्बोधन भएन ।’