प्युठानमा ट्र्याक्टर दुर्घटनाका मृतक सात जनाकै सनाखत

मृत्यु हुने सबै श्रमिक

O पुनम विसी

सुर्खेत । गए राती करिब १ बजे प्युठानमा भएको ट्र्याक्टर दुर्घटनामा परि ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ – स्वर्गद्वारी सडक खण्डमा दुर्घटना भएको हो ।

स्वर्गद्वारी २ धरमपानीबाट सोही ठाउँमा निर्माण भइरहेको सडकमा काम गर्ने मजदुर बोकेर भिंगृतर्फ आउदै गरेको लु १ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति पौने एक बजेतिर भएको लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता तथा प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले अक्षरपाटीलाई बताए ।

दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पाको रुन्टिगढी गाउँपालिका ५ बाईजाका २१ वर्षिय सागर बस्नेत, सोही ठाउँका २४ वर्षिय रिम बहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, सोही ठाउँका उमेर खुल्न नसकेका गोबर्धन बुढा मगर, २५ वर्षिय कबिराम बस्नेत र त्रिवेणी गाउँपालिका का २५ वर्षिय कमल कुवर रहेको पौडेलले बताए । मजदुर बोकेर हिँडेको ट्र्याक्टर सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

पानी परिरहेको र राती भएकाले उद्धारमा कठिनाइ भएको भए पनि अहिले ईलाका प्रहरी कार्यालय भिंगृबाट प्रहरी नायव निरीक्षक बुद्धी प्रसाद रानाको कमाण्डमा ६ जना, इलाका प्रहरी कार्यालय स्वर्गद्वारीबाट प्रहरी नायव निरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा २ जना र प्युठान प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीको कमाण्डमा ७ जनाको टोली खटिएको बताइएको छ ।

घटनास्थलबाट मृतकहरुको शब निकाल्ने काम भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक पौडेलले अक्षरपाटीलाई बताए ।