धन्यवाद ! फराकिलो हृदयकी सन्ध्या

० शंकर खैराली

काठमाडौं । दिएर, लिएर त संसारमा कहिले कसलाई नै पुग्छ र ? दुःख, पीडा, गाह्रो र अप्ठेरोमा उपकारी, गुणी र दानी भइदिने नेपाली मन नै त हो जसको संसारभर उच्च प्रसंसा पनि हुने गरेको छ ।

नेपाली त्यस्तो मन बोकेको ‘जात’ हो जो आफू अप्ठेरोमा हुँदा पनि साह्रो-गाह्रोमा परेकाहरुलाई सहयोग र सदभाव बाँड्न अघि सरिदिन्छ । फेसबुकमा देखिएको एउटा तस्बिरले पनि त्यही संकेत मात्रै गरेन, पंक्तिकारको ध्यानकर्षण गरिदियो ।

उसो त कोरोना कहरको सुरुवातदेखि नै यतिबेलासम्म पनि फेसबुकमा ‘सहयोग चार आना र प्रचार आठ आना’ गर्नेहरु पनि निकै देखिए । देखिने क्रम रोकिएको छैन । लगानी अरुको र प्रचार आफ्नो गर्नेहरुको जमात पनि नेपाली समाजमा कम छैन ।

प्रचारमा लामो अंकको सहयोग दावी, दानबिर अरुनै र व्यवहारमा ‘प्रचार मात्रै’को अवस्था पनि खोजविन गर्ने हो भने धेरै पाउन सकिन्छ । सहयोग, सदभाव, प्रेम होस वा दान दातव्य अंकले भन्दा मनले गर्ने कुरा हो भन्नेहरु पनि छन ।

अझ दान त ‘एक हातले दिएर अर्को हातलाई थाहै नहोस’ भन्ने पुरातन मान्यता छ । तर ‘दिएको देखाउन’ ‘प्रोफेसनल फोटो सेसन’ नै गर्नेहरु यत्रतत्र पाइन्छन । प्रविधिको जमानामा तस्बिर लिनै हुन्न भन्ने मान्यता पनि होइन । तर सम्झनाका लागि लिइने वा त्यो कर्मदेखि गदगद भएर कसै अरुले प्रसंसा गरिदिने सत्य अलग हो ।

हो यस्तै सत्यको यहाँ चर्चा गर्न खोजिएको हो । उनी हुन नौ वर्षिया सन्ध्या भण्डारी । डडेल्धुराको विकट ठाउँ परशुराम नगरपालिका ३ थपलाकी नौ वर्षिया सन्ध्याले आफूले जन्मदिनका अवसरमा आफन्त, अभिभावकबाट आशिर्वाद स्वरुप पाएको रकम नगरपालिकालाई हस्तान्तरण गरेकी छिन । त्यो रकम उनले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न हस्तान्तरण गरेको बताएकी छन । यो सन्देश र तस्बिरको दृश्य जति सन्देशमुलक छ, उति नै प्रेरणादायी पनि ।

बालबालिकाको पहिलो विद्यालय उसको घर हो । सायद शिक्षक बुवा खगिसिंह भण्डारी, आमा मिना र परिवारबाट उनले उदार मनको साँस्कारिक पाठ सिकिन होली ।

‘चकलेटको कारखाना बनाउने’, ‘गाडी घोडा छुकछुक’ गर्ने बाल मस्तिस्कभन्दा माथि उठेर उनले बुवा खगिसिंह र आमा मिना भण्डारीसँगै नगरपालिकाको कार्यालय पुगेर आफूले जन्मदिनको आर्शिवादमा पाएको ३ हजार ३ सय ३३ रुपैयाँ नगरका प्रमुख भीमबहादुर साउदलाई हस्तान्तरण गरेको तस्बिर नगरपालिकाको पेजबाट सार्वजनिक भएको छ ।

कोरोनाको महामारीमा जुधिरहेको सिंगो विश्व, त्यसबाट अछुतो हुन नसकेको नेपाल र नेपालभित्रका परशुरामजस्ता पालिका पनि यो महामारीले आक्रान्त छन । महामारीको संक्रमणभन्दा यसको त्रास र यसका कारण थलिएको अर्थ व्यवस्थाले झनै उद्देग र विशादको अवस्था सिर्जना गरेको छ ।

त्यही पीडा, त्रास र समस्यामा जुधिरहेको स्थानीय सरकारलाई एक ‘अवोध’ बालिकाले देखाएको उदार भावना र प्रदर्शन गरेको चौडा हृदय धेरैका लागि प्रेरणा मात्रै बन्ने छैन, जताततै निराशाको यो अवस्थामा यो एक सकारात्मक शन्देस पनि हुनेछ । यही सम्झेर विशाल हृदय भएकी ‘सानी’ सन्ध्यालाई अन्जान भए पनि शब्दमार्फत धन्यवाद भन्ने दुस्साहस गरेँ । धन्यवाद सन्ध्या ! तिम्रो सत्कर्म पर पर फैलियोस ।