दार्चुलाको नौगाडमा गएको पहिरोमा आमा-छोरी बेपत्ता

दार्चुला । आइतबार राति गएको पहिरोमा परी दार्चुलाको नौगाड गाउँपालिका–६ मा आमा–छोरी वेपत्ता भएका छन् । वेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरती रेहका छन्।

दुवै जनाको स्थानीयवासीले खोजी गरिरहेका छन् । सो पहिरोमा परी चार जना घाइते भएका छन्। मसुलधारे पानीसँगै राति नौ बजे पहिरो गएको थियो । ‘एक्कासी गाउँमाथिको डाँडो नै खसेर आयो, घरहरु पुरिए’, स्थानीय फागुनसिंह ठगुन्नाले भने ।

पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्दार गरेका थिए । पहिरोले गाउँको आधारभूत विद्यालयसमेत बगाएको ठगुन्नाले बताए। अहिले घट्नास्थलमा दल्लेख प्रहरी चौकीको टोली पुगेको छ। जिल्लाका विभिन्न ठाउँमा अत्यधिक वर्षासँगै आएको बाढी, पहिरोबाट क्षति पुगेको छ।

सांकेतिक तस्बिर