बाढी पहिरोले बाजुराको बूढीगंगाका चार गाउँ विस्थापित, बालबालिका काखमा च्यापेर रातभर जाग्राम बस्दै स्थानीय

बाजुरा । बाढी, पहिरोका कारण बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका १ र २ वडाका विभिन्न बस्ती विस्थापित भएका छन् । अबिरल वर्षापछि आएको बाढी, पहिरोले नगरपालिकाको वडा नम्बर १ मा पर्ने कुँडी र अम्कोट, त्यस्तै २ मा पर्ने बजेडी, नडाङ, मुस्तोला, ताप्रीसेरालगायत बस्ती विस्थापित भएका हुन ।

आइतबार आएको अविरल वर्षाले पानीमूल र ठाडो खोलाबाट मिसिएर घट्टेखोलाको बाढीले सोही दुई वडाका ताँप्रीसेरा, मुसी र खर्राकाखेतीयोग्य जमीन बगरमा परिणत भएको नगर प्रमुख दिपकबिक्रम शाहले बताए ।

लगातारको वर्षा कारण अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा परेको उनले बताए । अविरल वर्षाका कारण कतिपय गाउँका गोरेटो बाटो, पक्की सडक र ग्रामीण सडक अवरुद्ध बनेको नगर प्रमुख शाले अक्षरपाटीलाई बताए ।

गए राति आएको अविरल वर्षाका कारण बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि चर्किएका छन । उनीहरु त्यहाँबाट विस्थापित भएर छिमेकीकोमा बसिरहेको स्थानीय अगुवा खड्कराज जोशीले बताए । पहिराले पूरै गाउँ जोखिममा परेको उनको भनाइ छ ।

लामो समयदेखि आएको पहिरो र बजेडीमा पानी परेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका बताइएको छ । पानी आएका बेला गाउँका बासिन्दा भेला भएर बालबालिकालाई काखी च्यापेर जाग्राम बस्ने गरेको स्थानीयवासीको भनाइ छ ।

सोही वडाको नडाङका १० परिवार घर चर्किएपछि शिवशंकर प्राथमिक विद्यालयमा बसाइ सरेका छन । घरमाथिबाट पहिरो आएपछि स्थानीयवासी अब के हुन्छ भन्ने त्रासमा छन । खेतीयोग्य जमीन बगाएको छ भने लगाइएको खेती पहिराले पुरिएको छ ।

ताँप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौँको क्षति पुर्याएको नगरपालिकाले जनाएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर क्षति पुर्याएको छ ।

बाढीले साँफे–मार्तडी सडकखण्डको घट्टेखोलामा निर्माण भएको पक्की पुल बगाएको छ । खोलाले बगाएर ल्याएका ढुङ्गामुढा पुलमा अड्किएपछि बाढी ताँप्रीसेरा बजार पसेको स्थानीयवासीले बताए ।

महिनादिनको धानखेती बगरमा परिणत भएको स्थानीय आशा थापाले बताइन । नगरपालिकाभरीको क्षतिको पूर्ण विवरण भने संकलन नभइसकेको नगरपालिकाले जनाएको छ ।