रेडक्रसले हेलिकोप्टरमार्फत पुर्यायो बाढी प्रभावित परिवारलाई राहत

काठमाडौं । यतिबेला देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी, पहिरोले वितण्डा मच्चाइरहेको छ । लगातारको मनसुनी बर्षाले बाढी पहिरो जाँदा देशका विभिन्न स्थानमा जनधनको क्षति भइरहेको ।

बाढी, पहिरो र विश्वव्यपारी रुपमा फैलिएको कोरोना संक्रमणले आक्रान्त पारिरहेको अवस्थामा रेडक्रसले भने देशभरका विभिन्न स्थानमा प्रतिकार्य तीब्र बनाएको छ ।

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो प्रभावित जिल्लाका दुर्इसय २५ परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको रेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जनाकारी दिएका छन ।

वितरित सामग्री सेटमा तार्पोलिन १, कम्बल–२, महिलाको सारी १, सिलाउने कपडा १४.५ मीटर, भाँडाकुडा सेट १, बाल्टी १ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री भएको पौडेलले बताए । वितरित सामग्री प्रतिसेटको मूल्य १० हजार रहेको बताइएको छ ।

‘अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र पाँच हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ,’ नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले भनिन, ‘नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसुन पूर्वतयारी योजना अनुसार हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौँ ।’

रेडक्रसले तत्कालको आवश्यकता अनुसार पाँच सय ८२ वटा तार्पोलिन, तीन सय ९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको रेडक्रसले जनाएको छ ।

बाढी पहिरोले आजसम्म कम्तिमा दुई हजार चारसय ३८ परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारभ्भिक अनुमान छ । प्रारम्भिक प्रतिवेदन अनुसार चार सय १५ घर पूर्णक्षती भएका र पाँच सय ६५ घरमा आंशिक क्षति पुगेको नेरेसोका सञ्चार विभाग निर्देशक पौडेलले जानकारी दिए ।

३४ टोली देशभर परिचालित
रेडक्रसले कोरोना महामारी र बाढी, पहिरो प्रभावितको प्रतिकार्यमा ३४ टोली देशभर परिचालन गरेको जनाएको छ । यसैबीच सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ । जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको रेडक्रसले जनाएका छ ।

निर्देशक पौडेलले भने, ‘रेडक्रसका निकायहरुले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत् पुर्याएको सेवा अतुलनीय छ । म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलीकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको छ ।’

smart