अरिङ्गालको व्यापारबाट नसोचेको आम्दानी

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकर्तालाई अरिङ्गाल बन्न दिएको अभिव्यक्तिले केही समय अघि निकै चर्चा र आलोचना खेप्यो । अरिङ्गाललाई धेरैले बिम्बात्मक व्यंग्यका रुपमा प्रयोग गरे ।

तर रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गरेर मनग्य आम्दानी गर्छन भन्दा अनौठो मान्नु पर्दैन ।
६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन् । अरिङ्गालको व्यापार गरेरै आलेले यस सिजनमा ५० हजारभन्दा बढी आम्दानी गरेका छन् ।

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उनले राम्रो आम्दानी गरिरहेका छन् । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उनले भने ।

गत वर्ष एक लाख ५० हजारभन्दा बढी आम्दानी भएको उनले बताए । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ ।

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन् । प्रतिकिलो अरिङ्गाल एक हजार २०० मा खरीद हुन्छ । आलेले एक प्लेट अरिङ्गालको परिकारलाई २५० मा बिक्री गर्छन ।

“ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,” उनले भने । अरिङ्गालको परिकारले औषधिको काम गर्छ । सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हुँदै आएको छ ।

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८÷१९ अरिङ्गालको गोला पोलेको बताए । भैरवस्थानमा प्रतिकिलो अरिङ्गाललाई एक हजार २०० र तानसेनमा एक हजार ५०० मा बिक्री हुन्छ । अग्ला रुखमा अरिङगालले गोलो लगाउने भएकाले पोल्न समस्या हुन्छ ।