मंगलग्रहको अध्ययन गर्न चीनद्वारा मंगल यान प्रक्षेपण

एजेन्सी । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न उक्त यान प्रक्षेपण गरेको हो ।

संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाजस्तै देखिएको छ । चीनले मंगल अभियानलाई तियानवेन–१ ‘स्वर्गको जिज्ञासा’ राखेको छ ।

चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको सो यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र कर्मचारीले खुशी मनाएका छन ।

साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।

सन् १९६० देखि शुरु भएको मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन्