भारतमा १२ लाख ३८ हजारभन्दा बढी कोरोना संक्रमित, एकै दिन ११ सयको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार सात सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ३८ हजार ६ सय ३५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणको कारण भारतमा एकैदिनमा १ हजार एक सय २९ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म २९ हजार आठ सय ६१ पुगेको अधिकारीले जनाएका छन ।

भारतमा अहिले पनि ४ लाख २६ हजार एक सय ६७ जना संक्रमित अवस्थामै छन् भने ७ लाख ८२ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ३७ हजार ६ सय सात जना सङ्क्रमित भएका छन् ।

त्यसपछि तमिलनाडुमा १ लाख ८६ हजार ४९२ संक्रमित छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २६ हजार तीन सय २३ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।