सरकारले लकडाउनको लामो समय उपलब्धिहीन सकायोः अनुगमन समिति

हठात निर्णय गर्ने सरकारका कारण बढ्न सक्ने संक्रमणप्रति तयारी शून्य

काठमाडौं । सरकारले लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि सकारएको काँग्रेसको कोभिड–१९ अनुगमन समितिको ठहर छ ।

समितिका संयोगक तथा काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारका हरेक निर्णयहरु हठात र तयारीरहित भएको बताएका छन । कांग्रेसको कोभिड—१९ अनुगमन समितिका तर्फबाट समितिका संयोजक एवं पार्टी सहमहामन्त्री डा. महतद्वारा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विना तयारी लकडाउन हटाएको बताए ।

पत्रकारसम्मेलनमा वितरित प्रेस नोटमा भनिएको छ, ‘लकडाउनको लामो अवधि सरकारले विना तयारी र विना उपलब्धि न सकायो । अहिले लकडाउन खोल्दा पनि बढ्नसक्ने संक्रमण प्रति सरकारको तयारी शून्य देखिन्छ ।’

सरकारले लकडाउन खोल्ने निर्णय गर्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा कुनै तयारी नगरेर मौन देखिएको समितिको ठहर छ ।
प्रेस नोटमा भनिएको छ, ‘सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ ।’

आर्थिक–सामाजिक जीवन सहज होस र आर्थिक गतिविधि बढोस् भन्ने सबैको चाहना भए पनि संक्रमणको जोखिम घटोस् भन्ने चिन्ता पनि सबैको हुनुपर्ने तर सरकार त्यसतर्फ गम्भिर नभएको समितिको निष्कर्ष छ ।

सरकारले १२० दिन लामो लकडाउन र सेमी लकडाउनको अवस्थालाई समाप्त गरेर साउन ७ गते मध्य रातिदेखि लकडाउन खोल्ने निर्णय गरेको थियो । मुलुकको अर्थतन्त्र, व्यवसाय, जनजीवनलाई सामान्य बनाउन लकडाउन खुलाउन आवश्यक भए पनि त्यसपछि जनजीवनलाई व्यवस्थित, स्वास्थ्य सजगता र सुरक्षाका उपाय अबलम्बन गरेर मात्र नागरिक जीवनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा कांग्रेसले सरकारलाई पटक–पटक सजग गराउँदै आएको भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको समितिका संयोजक डा महतले उल्लेख गरेका छन ।

लकडाउन खुलाउँदा आर्थिक, सामाजिक रुपमा महशुश गरे पनि बढ्दो संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुनसक्ने थप जोखिम तर्फ समितिले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।

आर्थिक–सामाजिक जीवन सहज होस, आर्थिक गतिविधि बढोस् भन्ने समितिको पनि चाहना भएको उल्लेख गर्दै समतिले भनेको छ, ‘साथसाथै संक्रमणको जोखिम पनि घटोस् ।’ काँग्रेसको कोभिड– १९ अनुगमन समितिले सरकारका कमजोरीलाई पाँच बुँदामा प्रस्तुत गरेको छ ।

के हुन कमजोरी

० संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।

० लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।

० नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।

० सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मझ्यौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन । अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ सरकारको पटक्कै ध्यान गएको छैन ।

० लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन । हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं ।