वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

पर्सा । पर्साको वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमै देखिन थालेको र भारतबाट नेपाल आउने क्रम पनि नरोकिएपछि जिल्ला सुरक्षा समितिले शनिबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

योसँगै आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकमा भारतसँग सीमा जोडिएको वीरगञ्जमा भारततर्फ जाने र आउने क्रम बढिरहेको निष्कर्ष निकालिएको छ ।

बैठकले संक्रमण देखा परेको ठाउँ सिल गर्ने र संक्रमित भएका व्यक्तिहरूसँग भेटघाट गरेकालाई कन्ट्रयाक ट्रेसिङ गर्ने र होम क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरेको निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।