आमाबाबु गुमाएकी ६ वर्षिया बालिकाको पढाइको जिम्मा पौडेलले लिए

तनहुँ । पहिरोले पुरिएर आमाबाबु गुमाएकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका तन । तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी अमिनाको घरमा पुगेर पौडेलले बालिका थापालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था गर्ने बताएका हुन ।

अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । गत असार २९ गतेको पहिरोले पुरिएर बालिकाका बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षिया नानुमाया थापाको निधन भएको थियो । पहिरोले पुरिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो ।

काँग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका पाँच जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गरे ।

यसैगरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोटदरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पु¥याउन दुई लाख २१ हजार २५ संकलन भएको छ । उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आएका छन ।