नेपाली चेली श्रृंखला मिस वल्र्डको फाइनलमा

काठमाडौं । नेपाली चेली श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा पुगेकी छन् । खतिवडाले मल्टिमिडिया अवार्ड हात पार्दै फाइनल प्रवेश गरेकी हुन् ।

२३ वर्षीया खतिवडाले मिस वल्र्ड मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

मल्टिमिडिया अवार्डका लागि सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट पाँचमा नेपालसहित चीन, केन्या, पोर्टोरिको र बेलायत परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिष्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए ।

चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी प्रतिस्पर्धामा थिए । सुरुवातमै आफ्नो उपस्थिति बलियो देखाएकी मिस नेपाल खतिवडा टप ३० मा परेकी हुन् । मिस वल्र्डमा उनी फाइनलमा पुग्ने पहिलो चेली हुन् ।