ओलीको अडान लत्याउँदै अध्यक्ष दाहाल समूह स्थायी कमिटी बैठक संचालनको तयारीमा

काठमाडौं । असार १० देखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा तय गरिएका एजेन्डामाथि आजसम्म पनि छलफल र बहस हुन सकेको छैन ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहबीचको मनमुटावका कारण कमिटी बैठक अनिर्णयको बन्दी मात्रै होइन चरणबद्ध रुपमा सर्दै आएको छ । मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीको असहमतिकै बीच पनि संचालन हुने भएको छ ।

सत्तारुढ दल नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको नेताहरुको बैठकले जारी स्थायी कमिटि बैठक जसरी पनि अगाडी बढाउने निर्णय गरेका हुन ।

असार १४ गते स्वर्गिय मदन भण्डारीको जन्मजयन्तीमा ओलीले ‘भारत र केही नेताहरु आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको’ आसयको अभिव्यक्ति दिनु, १८ गते कोरोना महामारीलगायत जनताका सवालमाथि संसदमा पर्याप्त छलफल हुन नपाउँदै विना प्रक्रिया हठात रुपमा प्रधानमन्त्रीले संसदको वर्षे अधिवेशन स्थगित गर्नु र एकतामा गइसकेको नेकपा एमाले नामको दल दर्ताको प्रक्रिया थाल्नुले ओलीमाथि पार्टी भित्रै आशंका र शंसय पैदा भएको हो ।

ओलीको सत्ता सन्चालनको शैली, नेता, कार्यकर्तासँगको व्यवहार र आफूलाई सर्वेसर्वा ठान्ने प्रवृतिको बिरोध गर्दै अर्का अध्यक्ष दाहाल मात्र होइन वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतले ओलीलाई पदबाट राजीनामा दिन माग गरिरहेका छन ।

स्थायी कमिटी बैठकमा आफ्नो राजीनाको स्वर उचो बन्दै गएपछि ओलीले अनके बहाना बनाएर स्थायी कमिटी बैठक सार्दै र टार्दै आएका थिए । तर सोमबार दाहाल निवाश खुमलटारमा भएको नेता नेपाल, खनाल र ईश्वर पोख्रेलसहितको बैठकले मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक जुनसुकै हालतमा सन्चालन गर्ने निर्णय गरेको बताइएको छ । भोलीको बैठकमा पनि ओलीले एक पदमा साँघुरिनुपर्ने विषय चर्को रुपमा उठ्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ ।

पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे बैठकमा छलफल भएको र अब बैठक कुनैपनि हालतमा नरोक्ने निर्णय गरिएको स्रोतले बताएको छ ।

पटक पटक गरिएको प्रयासबाट पनि सहमति हुन नसकेपछि बहुमतको आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर अघि बढ्ने तयारी भएको स्रोतको दावी छ ।