डब्लूएचओ भन्यो- नेपाल समूह–संक्रमणको अवस्थामा

काठमाडौं । नेपालमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । दिनहुँ सयौंको संख्यामा नयाँ संक्रमित थपिरहेका छन् । तर, लकडाउन खोलिएको छ । जसले गर्दा नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपालमा संक्रमण ‘क्लस्टर अफ केस’ अर्थात् ‘समूहमा संक्रमण’ देखिएको जनाएको छ ।

यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो । हाल दक्षिण र पूर्वी एसियामा नेपालजस्तै समूहमा संक्रमण भएका मुलुकमा भारत, थाइल्यान्ड, मालदिभ्स, श्रीलंका र म्यानमार हुन् ।

यसअघि नेपालमा कोरोनाको फैलावट ‘स्पोरोडिक केस’ अर्थात् ‘फाट्टफुट्ट मामिला’ भनेर डब्लूएचओले जनाउँदै आएको थियो ।

डब्लूएचओले कोरोना फैलावटको स्तरलाई ‘स्पोरोडिक केस’, ‘क्लस्टर अफ केस’ र अन्तमा ‘कम्युनिटी ट्रान्समिसन’, अर्थात् समुदायमा प्रसारण भनेर तीन तहमा परिभाषित गरेको छ ।