चार दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा फेरी मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै आउँदो चार दिनसम्म देशभर भारी वर्षाको सम्भावना छ ।

अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय हुन लागेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको छ ।

देशका पूर्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने महाशाखाले जनाएको छ । भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुनेछ । केहीमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ । त्यस्तै प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग भएर बग्ने नदीमा बहाव बढ्नेछ ।