भारतलाई नेपालको जवाफ- नेपालको भूमिमा नेपालीलाई बाधा नगर्नू

काठमाडौं । दार्चुलाको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको आवागमनमा कडाइ गरेको छ । भारतले ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न दार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतलाई जवाफी पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन भनेको भनेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि मंगलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । भारतले पत्रमार्फत दाबी गरेको भूमि नेपालको भएकाले नेपालीलाई बाधा, अड्चन नगर्न भन्दै पत्र पठाइएको उनले जानकारी दिए ।

पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ ।

यसअघि गएको असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरी–छिपी रहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएको थियो ।