देशका यी ठाउँमा छ भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ । मनसुन सक्रिय रहेकाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश ५ र गण्डकी प्रदेशका केही तथा प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी परेपछि बाढी, पहिरो र डुबान हुने जोखिम भएकाले आसपासका बासिन्दाले सावधानी अपनाउनुपर्नेछ ।

आज बिहान सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ को महोत्तरी, धनुषा र सप्तरीका केही ठाउँमा ठूलो पानी परेको र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको महाशाखाले जनाएको छ ।

भारी वर्षा भइरहेको क्षेत्रका नदीमा पानीको बहाव बढेकाले सावधानी अपनाउन भनिएको छ ।