उद्दारमा भएको अनियमितता नालायकीपनको पराकाष्ठाः डा महत

काठमाडौं । कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सम्बद्ध संघ, संस्था र पदाधिकारीहसँग छलफल गरेको छ । कांग्रेस कोरोना अनुगमन समितिले उडानसँग सम्बद्ध संघ, संस्था र पदाधिकारीसँग बुधबार छलफल गरेको हो ।

छलफलमा स्वास्थ सुरक्षा सम्बन्धि विशेष सावधानी अपनाएर सर्व सुलभ तरिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

छलफलमा संयोजक डा. महतले सरकारले उड्ययन क्षेत्रलाई सहज र सर्वसुलभ बनाउन ध्यान पुर्याउन नसकेको बताए । सरकारले नागरिकको उद्दार गर्ने नाममा अत्याधिक महंगो शुल्क लिएको देखिएको बताउँदै नियमित उडानका सन्दर्भमा समेत भईरहेका कमी कमजोरीलाई सुधार्नुपर्ने आवश्यकता रहेको औल्याए ।

कोरोना महामारीका कारण बिदेशमा समस्यामा परेका नागरिकको सहज उद्दार गर्न सरकारले नसकेको मात्र नभई महामारीमा समेत विभिन्न अनियमितताका घटनाले सरकारको निकम्मापन झल्किएको बताए ।

नियमित उडान सुरु गर्ने विषयमा पनि सरकारले स्वास्थ सुरक्षा सम्बन्धि पर्याप्त तयारि नगरेको समितिको ठहर छ । सरकारले उडान अनुमतिमा समेत पक्षपात गरेका कारण कम उडान भएकाले जनता महँगो शुल्क तिर्न बाध्य भएको अवस्थाबारे सहभागीले कोरोना अनुगमन समितिलाई जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एन पी सावद, डा चन्द्र भण्डारी, राजिवबिक्रम शाह, डा प्रभु बुढाथोकी र विभिन्न हवाई एजेन्सीका प्रतिनिधिको सहभागिता थियो ।