यी स्थानमा हुने छ भारी वर्षा

देशभर मौसम सक्रिय रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहानैदेखि तराईका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

पूर्व र मध्य तराईमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । मौसमविद् अर्यालका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको मध्य र पूर्वी तराई भूभाग नजिक रहेकाले वर्षा पनि बढी उतै भइरहेको हो ।

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा हुने स्थानका नदीमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।