रेडक्रसले एक वर्षमा वितरण गर्यो ३ लाख २१ हजार यूनिट रगत

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ०७६र०७७ मा तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराएको छ । रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको ५४ औँ बर्ष पूरा भएको अवसरमा उक्त जानकारी प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो । एक वर्षमा रेडक्रसले दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन गरेको पनि जनाएको छ ।

देशभरका विभिन्न संघ–संस्थाबाट तीन हजार चार सय ७८ वटा घुम्ती रक्त संकलन गरिएको जनाइएको छ । त्यस्तै केन्द्रीय रक्तसञ्चार सेवाबाट ३९ हजार सात सय ५५ यूनिट रगत संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

५४ बर्ष अघि ०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । हाल नेपालका ७३ जिल्लाका एक सय १६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत् रेडक्रसले सेवा सञ्चालन गर्दै आएको छ । काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगंज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छ ।

महिला रक्तदाताको संख्या अझै सानो
आर्थिक वर्ष ०७५र०७६ मा नेपालभर जम्मा दुई लाख ७१ हजार नौ सय २२ यूनिट रगत संकलन भएकोमा यस बर्ष कोभिडका कारणले केही प्रतिशत रक्तदाता घटेको रेडक्रसले जनाएको छ । महिला रक्तदाताको सँख्या बढेको छ । गतबर्ष कूल रक्तदाता महिलाको संख्या १६ दशमलव १ प्रतिशत रहेकोमा यसपटक १७ दशमलव ५ प्रतिशत पुगेको बताइएको छ । तर, यो संख्या पुरषभन्दा निकै कम भएको रेडक्रसले जनाएको छ ।

नेपालभरी संकलित रगत समूहको विश्लेषण गर्दा पोजेटिभ समूहको रगत ९६ दशमलव ७० प्रतिशत र नेगेटिभ समूहको रगत ३ दशमलव ३० प्रतिशत रहेको छ ।