मनसुनजन्य विपद्मा परेर २४ घण्टामा ११ को मृत्यु

काठमाडौं । केही दिनदेखि मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा पहिरो गएको छ भने धेरै स्थानमा अविरल वर्षा भएको छ ।

वर्षा, बाढी र पहिरोका कारण २४ घण्टामा ११ को मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षा, बाढी र पहिरोमा परि , ६ जना बेपत्ता र १२ जना घाइते भएको पनि प्राधिकरणले जनाएको छ ।

केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ । कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सात जनाले ज्यान गुमाएका छन । महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको छ । उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि मौसम बिग्रेकाले सफल हुनसकेको छैन ।

बाजुराको बूढीगङ्गा नगरपालिका–१ अमकोटमा गोठाला गएका एक व्यक्ति पहिरोमा पुरिएर बेपत्ता भएका छन् । कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएको बताइएको छ । बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएका छन ।

मौसमविद् प्रतिभा मानन्धरले मनसुन न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिनदेखि मनसुन सक्रिय रहेको हो । यसका कारण पश्चिम क्षेत्रमा बढी पानी परेको हो ।

काठमाडौंमा राम्रो वर्षा नभए पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । यसअघि न्यूनचापीय रेखा नेपालको नजिक थियो । अहिले बढी पूर्वी क्षेत्र नजिक छ । यसअघि पश्चिम क्षेत्रमा बढी मनसुन सक्रिय हुँदा केही ठाउँमा भारी वर्षा भएको छ ।

धनगढीमा १९८ मिलीमिटर वर्षा
धनगढीमा मात्रै १६७ मिलीमिटर वर्षा मापन गरिएको छ । पूर्वी भागमा वर्षा भएको र मध्य भागमा भने केही कम वर्षा भएको छ । आज धनगढीमा १९८ मिलीमिटर वर्षा मापन गरिएको छ । विराटनगरमा ३३ दशमलव आठ, ताप्लेजुङमा १९ र सिमरामा १७ मिलीमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

आज भने न्यूनचापीय रेखा नेपालको पूर्व नजिक रहेकाले मनसुन पूर्व र मध्य भागमा बढी सक्रिय हुने देखिएको मौसमविद् मानन्धरले बताए । धेरैजसो स्थानमा मौसम बदली भए पनि भारी वर्षा भने एक÷दुई स्थानमा मात्रै हुने सम्भावना रहेको छ । प्रदेश नं १, २, वाग्मती, गण्डकी प्रदेशका केही क्षेत्रमा आज बढी पानी पर्ने बताइएको छ । शुक्रबार भने प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा बढी मनसुन सक्रिय हुने जनाइएको छ ।