कैलालीमा हजारौँ घर डुबानमा, स्थानीय आन्दोलित

० रोहित गिरी

धनगढी । दुई दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण कैलालीको अधिकांश क्षेत्रका बासिन्दाको जनजीवन अस्तव्यस्थ बनेको छ । वर्षापछि आएको बाढीले कैयौँ गाउँ डुबानमा परेका छन भने सयौँ घरका बासिन्दा विस्थापित बनेका छन ।

निरन्तर परेको वर्षाले धनगढी उपमहानगरपालिकाका केही क्षेत्र, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन् ।

लगातारको झरीले नदीमा पानीको सतह बढेपछि यीं क्षेत्रका हजारौं घर डुबानमा परेका छन भने बाटोघाटो र सडक समेत जलमग्न बनेका छन । डुबानका कारण समस्यामा परेकाहरुको उद्धारमा तीनवटै सुरक्षा निकाय उद्धारमा खटिएका छन । डुबान क्षेत्रबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी र डुबानले कैलारी गाउँपलिका–७ बसन्तास्थित कटैनी नदीमा बनाइएको काठेपुल बगाउँदा आवतजावत बन्द भएको छ । बुधबारदेखि आएको बाढीले पुल भत्काएको स्थानीय चम्मन चौधरीले बताए । पुल बगेपछि ओहोरदोहोर ठप्प भएको वडा नम्बर ७ वडा कार्यालयका सचिव गणेश चौधरीको भनाइ छ ।

उक्त पुल भएर सो वडास्थित रतनपुर, मोहनपुर, तिघरी, शिवपुर, नारायणपुर, बसन्ताका गाउँका स्थानीय ओहोरदोहोर गर्थे । साउने झरीले धनगढीका अधिकांस बस्तीसमेत ढुबानमा परेका छन । बस्ती ढुबानमा परेपछि स्थानीय आन्दोलित भएका छन्। धनगढी उप–महानगरपालिकाको वडा २ र ३ मा डुबान बढी भएपछि यहाँका स्थानीय सडक आन्दोलनमा निस्किएका हुन ।

नगरपालिकाले पानीको निकासको व्यवस्था नगरेकाले आफूहरुले डुबानको समस्या भोग्नुपरेको भन्दै स्थानीय आन्दोलित भएका हुन । उता टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका डुबानमा परेका कैयौँ परिवारले खान समेत नपाएको गुनासो छ ।