लकडाउन अवधिको घरभाडा तत्काल नउठाउनु : सर्वोच्च

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

लकडाउन अवधिको घरभाडा छुट दिनुपर्ने माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बिहीबार कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश दिएको हो ।

‘आदेशबमोजिम तत्काल घरभाडा तिर्न नसक्ने व्यक्तिले विस्तारै कमाएर तिर्न सक्नेछन्, यस्तोमा घरधनीले भाडामा बस्नेहरुलाई भाडाका लागि दुःख दिने काम गर्न पाउनेछैनन्’, आदेशमा भनिएको छ ।

नाइहरूको संस्था ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले रिट दायर गरेका थिए। उनले दायर गरेको रिटमाथि न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको थियो ।

सर्वोच्चले घर भाडा लिने निर्णय तत्काल रोक्न सबै प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश गरेको हो ।