काठमाडौं उपत्यका प्रवेशमा कडाइ

काठमाडौं । साउन ७ गतेदेखि लकडाउन अन्त्य भएसँगै सरकारले एकपछि अर्को गर्दै सार्वजनिक यातायात, होटेल, रेष्टुराँ र हवाई यातायात समेत खोल्ने तयारी गरिरहेका बेला गृह मन्त्रालयले भने काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

विहीबारदेखि लागू हुने गरि गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको हो । १५ साउनबाटै लागू हुने गरी गृह मन्त्रालयले साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश गर्ने नाकाबाट यात्रु आवागमनमा रोक लगाएको हो ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गृह मन्त्रालयले रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाहरुको आवागमनमा पूर्ण निगरानी गर्ने, चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमनमा पूर्ण रोक लगाउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अन्य जिल्लामा पनि अत्यावश्यक काम बाम बाहेक पास जारी नगर्न र अन्तर जिल्ला आवागमनमा रोक लगाउन निर्देशन दिइएको छ ।