निर्मला हत्याको आरोपमा राधानीबाट समातिए २२ वर्षिय युवक

काठमाडौं । गत साउन १० गते बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा एक २२ वर्षिय युवा काठमाडौबाट समातिएका छन् ।

पक्राउ परेका युवकको परिचय भने गोप्पे राखिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कञ्‍चनपुरमा खटिएको सिआर्इबीको टोलीले दिएको सूचनाका आधारमा तीं युवक पक्राउ परेका हुन् ।

निर्मलाको शव फेलापरेको दिन साउन ११ देखि ती युवक कञ्चनपुरमा नदेखिएको र परिवारका सदस्यले भारतमा रहेको बताउँदै आएकाले उनीमाथि अनुसन्धान भइरहेको सुरक्षा स्रोतको भनाइ छ ।

पक्राउ परेका युवकको डिएनए परिक्षणका लागि नमुना नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको बताइएको छ । डिएनए परिक्षणको नतिजा नआउन्जेल उनलार्इ हिरासतमा राखिने छ।

उनी यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीको दावी छ । निर्मलाको हत्या भएको आज चार महिना १० दिन भइसकेको छ । सरकारले हत्यारा पत्ता नलगाएको र घटना ढाकछोप गर्ने कोसिस गरेको भन्दै देशभर आन्दोलन जारी छ ।