असहाय बालकको निसर्गमा निःशुल्क उपचार

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक बालकको निःशुल्क उपचार गरिदिएको छ । साउन १३ मंगलबार साँझ अस्पतालमा भर्ना भएका धनगढीका राजपुरका ५ वर्षिय आरुष रानाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।

विषादी सेवन गरेर बिरामी परेका बालक रानाको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरेको अस्पतालका अध्यक्ष तीर्थ पन्तले अक्षरपाटीलाई बताए । आमा अर्कैसँग विवाह गरेर हिँडेपछि आरुषका बुबाले बच्चासँगै आफूले पनि बिसादी (सल्फास) सेवन गरेका थिए ।

रामुले सल्फास खाएको कुरा आफ्नी दिदी जानकी र भिनाजु रामुत्तारलाई फोन गरेर जानकारी गराएका थिए । भाइले बिसादी खाएको खबर सुनेपछि कन्चनपुरको रैकवारमा रहेकी दिदी र भिनाजु भाइ रामुको घरमा पुग्दा बच्चा र बुबा उल्टी गरिरहेका थिए ।

विषादी सेवन गरेको अवस्थामा गाडीको जोहो गरेर अस्पताल पुर्याएको केही बेरमै बुबा रामुको मृत्यु भएको थियो । बालकको भने ५ दिनसम्म उपचार गरेर अस्पतालले आज डिस्चार्ज गरेको हो ।

अध्यक्ष पन्तले बालकको निःशुल्क उपचार गरेर निको भएका बालकलाई एक जोर लुगा उपहार दिएर आगामी दिनमा पनि बालकलाई कुनै पनि बेला विशेष छुटसहित उपचार गर्ने प्रतिबद्धता जनाएका छन ।