घरको आँगनमै चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ । गए राति तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको छ । उनको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । ुरातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ,ु हजुरबुवा पन्तले भने ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते भएका थिए । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयको भनाइ छ ।