राजमार्गमा पहिरै–पहिरो,आउजाउमै समस्या

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर भएको वर्षासँगै अधिकांश राजमार्गमा अत्यधिक पहिरो जाँदा आउजाउ अवरुद्ध भएको छ । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस्हुँदै त्रिभुवन राजमार्गका धेरै स्थानमा पहिरो गएको छ । नागढुङ्गादेखि मुग्लिनसम्म अत्यधिक पहिरो छ । राजमार्गको भित्ता पहिराले छियाछिया पारेको छ । सयौँ ठाउँमा सडक अवरुद्ध भएको छ ।

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा आएको छ । त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिराले सडकमा ठूलो क्षति गरेको छ । धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ ।

कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ । कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्थामा देखिन्छ । सवारी चालकहरु भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताउँछन । यसपालि मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ ।

सडकको तल्लो तह पहिराले कटान गर्दा सडक एकतर्फी भएको छ । कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ । केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो । अस्थायीरूपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ ।

सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ । धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ । वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराले ल्याएको बाक्लो गेगर हटाइएको छैन । राजमागर्गभरि लहरै पहिरो खसेर यात्रु र सवारी चालकहरु त्रासमा यात्रा गर्न बाध्य छन् । सानो वर्षा हुँदा नै ठूलो खतरा छ । पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकएको छैन ।

कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ । कतै सडक एकतर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्सा नै सडकमा बगिरहेको छ । सडकभन्दा तल्लो भागमा नदीले कटान पनि गरेको छ ।

यसपालि पृथ्वी राजमार्गको धादिङ खण्डमा भने सयौँ पहिरो खसेका छन् । कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ । ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ ।

चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठुलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ । अझै पनि पानी पर्दा यहाँ भने सडक ठप्प हुने देखिन्छ । भूगर्भविद् शिव बाँस्तोला पानी पर्यो भने पहिलेका पहिरा खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँ छन ।