जापानमा एकै दिन १३ सय भन्दा बढी सङ्क्रमित

काठमाडौं । जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार तीन सय ३० ले वृद्धि भएको छ । जापानको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध तथ्यांक अनुसार जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले जनाएका छन ।

जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भएपनि दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।
जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १३ हजार चार सय ५५ पुगेको छ । ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा सङ्क्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा सङ्क्रमितमध्ये २६ हजार पाँच सय ६५ जना निको भई घर फर्किएका छन् । सङ्क्रमणको कारण गम्भीर स्वास्थ्य समस्या भएका विरामीको सङ्ख्या मात्रै ८३ रहेको बताइएको छ ।

जापान सङ्क्रमितको उपचारमा सफल देखिएको तथ्यांकले देखाउँछ । पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ । सरकारले अति आवश्यक बाहेक नागरिकहरूलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ ।