आइतबार एक हजार यात्रु र १८ शव नेपाल भित्रिए

काठमाडौं । विभिन्न मुलुकमा अलपत्र परेका एक हजार एक सय ७२ नेपाली स्वदेश फर्किएका छन् । आइतबार नै क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएका छन । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले चार्टर्ड उडानमार्फत उनीहरुको उद्धार गरेका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दोहाबाट एक सय ५० यात्रु र चार शव, क्वालालम्पुरबाट दुई सय ५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट एक सय ५४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ ।

मालिन्दो एयरले क्वालालम्पुरबाट एक सय ७० नेपाली काठमाडौँ ल्याएको छ । फ्लाई दुबईले दुबईबाट एक सय ५२ यात्रु ल्याएको छ । कतार एयरवेजले दोहाबाट एक सय ३९ यात्रु नेपाल ल्याएको छ ।

एयर अरेबियाले सारजाहाबाट एक सय ६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।