डब्लुएचओले भन्योः तीन महिनामा पाँच गुनाभन्दा बढी फैलियो कोरोना संक्रमण

प्रभावशाली भ्याक्सिन तयार हुने विश्वास

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तीन महिनामा संसारभर पाँच गुनाभन्दा बढी दरले कोरोना संक्रमण फैलिएको बताएको छ ।

डब्लुएचओको इमर्जेन्सी कमिटीको बैठकपछि संसारमा तीन महिनाको अवधिमा पाँच गुनाभन्दा बढी दरले कोरोना संक्रमण फैलिएको वताएको हो । डब्लू एचओले मृत्युको संख्या पनि यो अवधिमा तीन गुनाभन्दा बढी वृद्धि भएको जनाएको छ ।

सोमबार मध्यान्नसम्म विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८२ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ६ लाख ९३ हजार पाँच सय ५० पार गरेको छ ।

योसँगै डब्लुएचओका डाइरेक्टर टेड्रोस गेब्रियेससले कोरोना उपचारका लागि कतिपय भ्याक्सिन फेज–३ ट्रायलको चरणमा पुगेको पनि बताएका छन । उनले कोरोना संक्रमण रोकथामका लागि कतिपय प्रभावशाली भ्याक्सिन तयार हुने विश्वास पनि व्यक्त गरेका छन ।

कोरोना महामारीले आतंकित बनेको विश्व जगतका लागि डब्लुएचओको यो सन्देश भने आसावादी भएको बताइएको छ । डब्लुएचओले गठन गरेको कोभिड–१९ आपतकालिन कमिटीमा १७ सदस्य र १२ सल्लाहकार छन ।