मौन बिद्रोह

-कबिता-

० लिला अनमोल

कहाँ बस्दो रहेछ र
गालामा आँशुको डोब
न खस्दो रहेछ खुशिले
दुनियाँसामु उन्मुक्त हासो

बौद्धिकताको छुरा धसेर म मा
तिमीले कृत्रिमताको प्रत्यारोपण गरेपछि
कहाँ मेटिदोँरहेछ र सदियौँदेखि पोतिएको
परम्पराको रातो रङ ?
न टुट्दो रहेछ सजिलै
सम्झौताको बलियो डोरी

बरु,
भक्कानिएर आँखाबाट आफै
चिहाउनु हरेक रातहरु
थकान गुम्साएर आफैभित्र
चलायमान बनाउनु दिनहरु
सहिदिनु सबैथोकहरु …

खुशी छिपाएर मनभित्र
मुस्कान साटेको अतिथि सत्कार,
तनान बिर्सिएर पूरा गरिदिएको
पारीवारिक फर्माइस,
छिप्पिएको हरेकरात
रक्सी साटेर दर्साएको प्रेम
र शरीर बाडेर फर्किएको लोग्ने
सहिदिनु यी सबिथोकहरु मैले।

आमा !!
किन रुपान्तरित गर्यौ म मा
तिम्रो सहनशिलता ?
थाहा छ मलाई
भान्छाको कुनामा बसेर
तिमी रोएको मध्यरात
कटकटिएकै छ साडिको सप्कोमा
तिम्रो आँशुको रङ
र बसेकैछ मनभित्र गडेर
बाबुका चर्का आदेशहरु…

हो आमा
बरु टक्टक्याएर उनकै सामुन्ने
बिद्रोही आधी चल्नुथियो
र बर्सिएर मनबाट उहिबेला
कठोरताको असिना झर्नुथियो
उन्को आदेशको आँखामा फुलो पारिदिनु थियो नि बरु
परिवर्तनको सुनामी चलाएर ।।
उनकै सामुन्ने
झुल्किदिनु थियो नयाँ युगको रातो घाम पहिल्यै
कुसंस्कारको कोर्राले हिर्काएको
तिम्रो अनुहारको कालो डामलार्इ
लगाइदिनु थियो मल्हम चेतनाको बरु

आज
चरमउत्कर्षमा पुगेर
तिम्रो सहनशीलताले मलाई घाइते बनाएकोछ
ढल्दैन मेरो सम्स्याको पहाड
बरु चट्टान भएर अग्लिएकोछ माथि माथि

बुझ्दैन बर्तमान
मेरो चिसो र तातो
मेरो जागर र थकान
मेरो भोक र तिर्खा
युग परिवर्तन भएर के भो ?
खुट्याएर अझै मेरा कमजोरिहरु
मेरो बर्तमान
मैमाथि आक्रमण गर्छ।

(बिर्तामोड झापा)