ओलीले भनेः गैरजिम्मेवारीपनाको नमुना नेकपामै हेरौँ, देउवाले भनेः दिएको सुझाव नमान्ने फेरि किन सुझाव माग्ने ?

काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि विषय विज्ञ, प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य दलका नेताहरुलाई सुझावका लागि बेलाए । मंगलबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो गुनासो राखे ।

‘राजनीतिक दलका नेताहरु जे गर्दा पनि विरोध गर्नुपर्छ भन्ने मानसिकतामा छन,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईँहरु पार्टीको झण्डामा अल्झिनु भएको छ, यो मानसिकता हटाउनुस, सरकारले सकेको गरिरहेको छ ।’

प्रधानमन्त्री ओलीले त्यति मात्र होइन आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गैरजिम्मेवारीपनाको नमुना भएको सम्म भ्याए । उनले भने, ‘सरकारले कोरोना भाइरस संक्रमणको जाखिम कम गर्न २५ जना भन्दा बढी मानिस जमा नहुन भनेको छ, मेरै दलका साथीहरु तुरुन्त केन्द्रीय समिति बैठक चाहियो भनिरहेका छन । ४५० जना कहाँ बस्ने ? कसरी बस्ने ? के का लागि बस्ने ?’

लामो समयदेखि पार्टीको स्थायी कमिटी बैठक टार्दै आएका ओलीले केन्द्रीय कमिटी बैठकको माग प्रति पनि असहमति समेत व्यक्त गरे । उनले सरकारले कोरोना नियन्त्रणमा ‘गर्न सम्म काम गरेको’ भए पनि केही संस्था, व्यक्ति र संचारमाध्यम भने ‘यता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध’मा लागेको गुनासो गरे ।

सरकारले सुझावका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापत देउवाले भने प्रतिपक्षी दल भएर पनि आफूहरुले महामारीसँग जुध्न हरेक प्रकारको सहयोगी भूमिका निर्वाह गरेको भए पनि सरकार सुझाव मान्नै तयार नभएकोप्रति असन्तुष्टि जनाए ।
बैठकमा देउवाले भने, ‘दिएको सुझाव नमान्ने अनि फेरि सुझाव दिन मात्र किन बोलाउने ?’ सरकारको अर्कमन्यता, लापरवाही, हेलचेक्र्याइँ र आफ्नै पार्टीभित्रको खिचातानीले सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको ठोकुवा देउवाले गरे । यद्यपित उनले विगतका सुझाव स्मरण गराउँदै थप सातवटा सुझाव सरकारलाई दिएका छन ।

क– काँग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु

० आरडीटी परिक्षण पूर्ण रुपले बन्द गरियोस ।

० सम्पूर्ण रुपले पीसिआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त गरियोस।

० स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध होस । अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता देखाइयोस । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध होस ।

० मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन गरियोस ।

० विदेशमा अप्ठेरोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था होस ।

० नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सीमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल गरियोस ।

० सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग होस ।

ख – हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको सरकारले ढाकछोप होइन छानबिन र कार्वाही गरोस ।

ग– परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

घ– विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

ङ– उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर फरक क्षेत्र, फरक रणनीति बनाएर कार्यान्वयन गरियोस् ।

च– विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

छ– बर्ग, क्षेत्र र परिस्थिति हेरर राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गरियोस् ।