१२ जिल्लामा निषेधाज्ञा

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि १२ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

कोरोना भाइरसको सं‌क्रमण रोकथाम र नियन्त्रण गर्न झण्डै चार महिना लकडाउन गरिएको थियो । सो लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै गएपछि १२ जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।

सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।