नेता महतद्वारा राप्रपाका सयभन्दा बढी नेता कार्यकर्तालाई काँग्रेसमा स्वागत

काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादको बाटोमा उन्मुख भएको बताएका छन । उनले अहिलेको अवस्थामा लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण शक्ति एक हुनुपर्ने विचार पनि व्यक्त गरे ।

बुधबार काठमाडौं महानगरपालिका ३ बाट राप्रपाका सयौँ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गराउँदै सह महामन्त्री डा महतले लोकतन्त्रवादी शक्ति बलियो बन्दै गएको बताए । नेता महतले राप्रपाका सयौँ नेता कार्यकर्तालाई कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन ।

प्रबेश कार्यक्रममा नेता डा महतले अहिलेको सरकार अधिनायकवादको बाटोमा उन्मुख भएको बताउँदै भने, ‘काँग्रेस बलियो हुनु आवश्यक छ । लोकतन्त्रमा बिश्वास गर्ने सबै जनमानस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको छ ।’

राप्रपाबाट काठमाडौ महानगरपालिका वडा न ३ बाट वडाअध्यक्षका प्रत्यासीसहित एक सय १० जना राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका हुन । उनीहरुलाई पार्टीमा उपयुक्त भूमिका दिने प्रतिवद्दता समेत नेता डा महतले व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रममा काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र न ५ का क्षेत्रीय सभापति रमेश खड्कालगाएत नेताहरुको सहभागिता थियो ׀