नेपाल आइडलका लागि रवि वडको भोटिङमा चलखेल

काठमाडौं । नेपाल वान टेलिभिजनबाट प्रसारण भइरहेको दोस्रो सिजनको नेपाल आइडलको भोटिङमा चलखेल भएको दावी गरिएको छ । बिहीबारको प्रस्तुतीपछि भोटिङ सुरु भए पनि शुक्रबार बिहानका भोटिङमा चलखेल भएको खुलासा भएको हो।

नेपाल आइडलका कन्टेस्टेन्ट १० नम्बरका रवि वडलार्इ गरेको गरेको भोट अमित बराललार्इ गएको नोटिफिकसन आएपछि भोटिङमा चलखेल भएको खुलेको हो । शुक्रबार राति १० नम्बरमा एसएमएस तथा रेस्पेक्ट एन्ड राइज एपबाट भोट गर्दा रविलार्इ नै भोट गएको नोटिफिकसन आए पनि शुक्रबार बिहानैदेखिका सबै भोटमाअमितलार्इ नोटिफिकसन आएको बताइएको छ। अमितको भोटिङ कोड ०१ हो।

रवि यसअघि सबै एपिसोडमा एक नम्बरमा थिए । रवि मौलिकता र लोक लयमा अब्बल देखिएपछि आम दर्शकको पहिलो रोजाइमा छन्।

बिहीबार प्रस्तुतीमा रविले लिरिक्स बिगारेका थिए। तर, उनले त्यसलार्इ सजिलै ट्रयाकमा ल्याएका थिए। यसै विषयलार्इ त्रुटी देखाएर रविलार्इ आउट गर्ने षड्यन्त्र भइरहेको भन्दै उनका समर्थकले सामाजिक सञ्‍जालमा व्यापक आलोचना गरेका छन्।
बिहीबार रविले लिरिक्स बिगारेसँगै उनलार्इ जोगाउन समर्थकहरुले बृहत भोटिङ अभियान सञ्‍चालन गरेका छन्। स्रोतका अनुसार उनले यस साता पनि अत्यधिक भोट पाएका छन्।

यस विषयमा कुरा गर्दा नेपाल आइडका निर्देशक सुरेश पौडेलले प्राविधिक गडबढी भएको मिडियासँग स्वीकार बताए । तर उनले यस विषयमा कसरी र किन भयो भन्ने कुरा खुलाउन चाहेनन्। उनले त्यसलाई प्राविधिक त्रुटीका रुपमा मात्रै भन्न चाहे ।

अन्तिम पाँच जनाबीच निकै ठूलो प्रतिस्पर्धा भइरहेको बेला यस्तो गम्भीर त्रुटीका विषयमा आयोजकले आधिकारिक धारणा बाहिर ल्याएको छैन।