ओलीको देवत्वकरण !

  • अक्षर विश्लेषण

अघिल्लो साता सोमबार बेलुकी सामाजिक सञ्जालभरी देशका प्रधानमन्त्री केपी शर्मा ओली पोल पोलमा झुण्डिएको तस्बिर भाइरल भयो । पोस्टरमा लेखिएको थियो ‘नयाँ युगको सुरुवात ।’

देशमा पुरानै युग, पुरानै मर्यादा, पुरानै शान्त र न्यायिक राज्यको माग ‘निर्मला पन्त हत्याकाण्ड’बाट चर्को रुपमा उठिरहेका बेला प्रधानमन्त्रीको तस्बिरसहितको ‘नयाँ युग’ले बेग्लै तरंग पैदा गर्नु स्वभाविक थियो । त्यो भन्दा अर्को तरंग त ओली सरकारका सुरक्षाकर्मीले निर्मलाको न्यायका लागि पोल, सडक र सवारीसाधनमा झुण्ड्याएका तस्बिर उप्काउनुले ल्याइरहेको छ । यद्यपि निर्मलाको ‘सामुहिक बलात्कार’ भएको अनुमान गर्दै चार जना यवा पक्राउ गरिनुले घटनाले पक्कै नयाँ मोड लिनेछ ।

सामाजिक सुरक्षा कोष घोषणाको पूर्व संध्यामा अघिल्लो साता यति भव्य प्रचारप्रसार गरियो कि कार्टुनिष्टहरुले ‘विहान उठेर सौच गर्न समेत पाइएको छैन, जताततै सरकारै सरकार छ’ भन्दै कुकुर सम्वादसहितको कार्टुन बनाएर व्यंगे गरे ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोषी चार महिनासम्म पनि पत्ता लगाउन नसकेर अन्तर्राष्ट्रिय स्तरमै बदनाम अनि एउटा गैह्रसरकारी संस्थाले आयोजना गरेको दक्षिण यसिया प्यासिफिक सम्मेलनमा सरकारले संविधानको भावना विपरित इसाईकरणलाई प्रोत्साहन गरेको भनेर विपक्षिमात्रै होइन उनकै पार्टीका प्रभावशाली नेता भीम रावल लगायतले ओली सरकारले विरोध गरेका छन् ।

सामाजिक सुरक्षाजस्तो राज्यको दायित्वभित्र पर्ने कार्यक्रमलाई सकारात्मक प्रचारको ठूलो हतियार बनाउन खोजेको र कुनै निश्चि धर्मको प्रचार उद्देश्यमा सरकार फसेको भन्दै अली सरकारको आलोचना तिव्र भएको छ ।

आज होइन १६ महिना अघि नेपाली कांग्रेसकै पालामा २०७४ साउनमा संसदबाट पारित ऐन अनुसारको कार्यक्रमलाई ओली सरकारले तामझामका साथ कार्यक्रम घोषणा गरेर ‘ठूलो जस’ लिने कोसिस झन उल्टा भइदियो । उनले विभिन्न संघ, संस्था, बैंक आदिमार्फत आफ्नै तस्बिर राखेर पोलपोलमा तस्बिर मात्रै झुण्ड्याउन लगाएनन् पत्रपत्रिकामा ‘ज्याकेट’ र ‘रोडब्लक’ विज्ञापन गराएर आफ्नै ‘देवत्वकरण’ गराए ।

ओलीको यो व्यक्तिवादी कदमलाई चिया चौतारीमा मात्र होइन ‘वौद्धिक सर्कल’मा पनि सकारात्म ठानिएन । धेरैले नयाँ युग होइन ‘ओली युग’को सुरुवात भन्दै सार्वजनिक रुपमै टिप्पणी गरे ।

सेलाइएको सुन काण्ड, संरक्षण गरिएको भनिएको निर्मला हत्याकाण्ड, न्यायालयमाथि राजनीतिकरणदेखि सरकारी नियुक्तिमा ओली सरकारले बोलेको धावाका कारण ‘फेस सेभ’ गर्नै मुस्किल परेका बेला आम जनतामा आफैले गरेको भ्रम छर्न ओलीले अपनाएको प्रचारात्मक कदम नै उनका लागि ‘पोलेको घाँटीमा थप तातो दूध’ भयो । यद्यपि ओलीले यसलाई आफ्नो ‘महान कार्य’का रुपमा ब्याख्या गर्न छोडेका छैनन् ।

शैली गलत

कांग्रेस नेतृत्वको सरकारकै पालामा १६ महिनाअघि ऐन पारित गरेर तयारी गरिएको सामाजिक सुरक्षा कार्यक्रम ओली सरकारले घोषणा गर्यो । जुन मुलुकका श्रमिक मात्र होइन रोजगारदाता कम्पनीका लागि पनि हितकर हुने छ । एउटा श्रमिकले श्रम गरुञ्जेल पारिश्रमिक पाउने र छोडेको दिन रित्तै हात घर फर्कनुपर्ने आजसम्मको अवस्थाले काममा उर्जा देखिँदैन थियो ।

घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम लागू हुन सकेमा यसले श्रमिक वर्गलाई सुरक्षाको प्रत्याभूति, उच्च आत्मबलका साथ काम गर्ने वातावरण मात्र होइन केही भइहालेमा वा बुढेसकालमा ढुक्कको वातावरण बनाउने छ । त्यो हुनु भनेको उत्पादकत्वमा वृद्धि हुनु हो । तर यसलाई व्यवस्थापन र कार्यान्वयनमा ल्याउन भने केही कठिनाइ हुने विज्ञहरुको अनुमान छ । कोषको परिकल्पना जति सुन्दर छ कार्यान्वयन त्यति नै चुनौतिपूर्ण छ ।