सरकारले दोस्रोपटक नक्कली हत्यारा खडा गरेको महिला संघको दावी, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । पटक पटक नक्कली अपराधी खडा गरेर वास्तविक अपराधीलाई संरक्षण गर्ने सरकारको हर्कतप्रति नेपाल महिला संघले गम्भीर आपत्ति जनाएको छ ।

संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको बताइन् ।

‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ । पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणीत र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।