निर्मला ! निर्मला ! निर्मला !

० दीक्षा भट्ट

यही एउटा नाम
चर्को स्वरले
कराएको सुन्छु म,
यही एउटा तस्बिर राखेर
न्यायको लागि
लेखहरू लेखिएको देख्छु म,
अचम्म पर्छु म ।

सोच्छु
निर्मलाले चिच्याइरहँदा,
दिनरात मन्दिरमा पुजिने
दानवबाट बचाउन
एकै पुकारमा
उपस्थित हुने
‘भगवान’
कहाँ गए होलान ?

भाइटिका र रक्षाबन्धनमा
दिदीबहिनीको
रक्षा गर्नेछु भन्ने
‘दाइभाइ’
कहाँ गए होला ?

अपराधीलाई पक्रेर
सजाय दिलाउने,
जनताको सुरक्षाका लागि
दिनरात खटिने,
सपथ लिएका
‘प्रहरी’
कहाँ गए होलान ?

कसै निर्दोशमाथि
अन्याय नहोस्
भनेर स्थापित गरिएका
‘न्यायलय’

न्याय गर्ने
‘न्यायाधीश’
कहाँ गए होलान ?

जनताको सेवा नै मेरो धर्म र कर्म हो
भन्दै हिड्ने
माननीय मानिने
‘नेता’
कहाँ गए ?

म भन्छु,
छाडिदेउ पुज्न भगवान
छाडिदेउ धाउन न्यायलय
छाडिदेउ जान प्रहरी कार्यालय
छाडिदेउ बाध्न रंगीचंगी रक्षा धागो
छाडिदेउ लगाउन सप्तरंगी टीका
छाडिदेउ लिन नेताका सहानुभूति
न निर्मला फिर्ता आउँछिन्
न न्याय नै !

किनभने यहाँ न्याय गर्नेहरु
न्यायको घाँटी रेटेर नै
उचाइमा पुगेका छन्
र,
त्यहाँबाट उही
खुनले लत्पत्तिएको
भुइँमा
झर्ने सामर्थ्य
अपराधीहरु राख्दैनन् ,

बरु सक्छौं भने
आज
आफ्नी छोरीलाई
लक्ष्मण रेखा भित्र नराखी
हरेक रेखा पार गर्नसक्ने
योद्धा बनाउ,

डर र लाजको श्रृङगार होइन
हिम्मतको घुम्टो ओढेर
आत्मविश्वासको पोसाक
पहिरिन सिकाउ,

ता कि
भोली
फेरि कसैले
निर्मला बन्नु नपरोस्
निर्मला गाउनु नपरोस् !!!