कामपाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो ।

कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको हो ।

यही मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिसकेको छ ।

अहिले यसअघि १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलमानै फोहरको व्यवस्थापन गरिने श्रेष्ठले जानकारी दिए । सिसडोलदेखि बञ्चरेडाँडासम्म जानको लागि बाटो निर्माण गर्ने काम भइरहेको र आगामी दुई महीनाभित्र काम सकी फोहर व्यवस्थापन स्थल निर्माणको काम शुरु हुने हुँदा निर्माणको काममा ढिला हुँदैन श्रेष्ठले भने ।

हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।