खस्कियो सन्दीपको बलिङ बरियता

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन ।

नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा छन । उनले कूल ३ सय ८९ रेटिङ अंक पाएका छन । यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा थिए ।

हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा रहेका छन । उनले सो प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए ।

विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा छन । दुवै जना हाल सीपीएल खेलिरहेका छन । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका छन ।

यस्तै आईसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा छन ।