‘तोकिएको समयभन्दा पहिल्यै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ’

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने दावी गरेका छन् ।

जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तीव्र गतिमा अघि बढेकाले सन् २०२१ को शुरुदेखि नै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै पर्यटनको विविधिकरण हुने उल्लेख गर्दैउनले सम्भाव्यता अध्ययन गरी आवश्यक भौतिक पूर्वाधार तयार गर्न व्यवसायीलाई आग्रह गरे ।

एघार महीनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरी कूल २२ लाख पर्यटक नेपाल आएको तथ्याङ्क उल्लेख गर्दै उनले मुलुकले सन् २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताए ।