काँग्रेसले भन्योः सरकारले न परीक्षण व्यापक बनायो न उपचारको व्यवस्था गर्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कोरोना रोकथाम र उपचारमा गम्भिर नभएको बताएको छ । पार्टी सह महामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले आज प्रदेश २ का नेता तथा विज्ञसँगको छलफलमा नेताहरुले यस्तो दावी गरेका हुन ।

जुममार्फत भएको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन अपिल गरे । उनले रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान र निरन्तर स्यानिटाईज, मास्क प्रयोग गरेर सामाजिक दुरी कायम गर्न पनि सुझाव दिए । उनले सरकारलाई काँग्रेसले पटक पटक कोरोना नियन्त्र, उपचार र संकट व्यवस्थापनको सुझाव दिए पनि सरकार उदासिन देखिएको बताए ।

भर्चुअल कार्यक्रममा पार्टीका उपसभापति बिमलेन्द्र निधिले सरकारले बचाउला भनेर भर परेर बसे ज्यानै जानसक्नेतर्फ सचेत गराउँदै जनतालाई कोरोनाबाट बचाउन सचेतना फैलाउन आफ्ना कार्यकर्तालाई आग्रह गरे ।

सह–महामन्त्री तथा कोभिड अनुगमन समितिका संयोजक डा महतले सरकारले फागुनदेखि अहिलेसम्म पटक पटक बन्द गर्ने खोल्ने, फेरि बन्द गर्ने र खोल्ने काम गरे पनि पीसीआर परीक्षण व्यापक बनाउन नसकेको, उपचारको यथेष्ट व्यवस्थापन गर्न नसकेको बताए । उनले उपचार नपाएर छटपटाएका बिरामीलाई तत्काल उपचारको प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरे ।

छलफलमा प्रदेश नम्बर २ का कांग्रेस नेता तथा विज्ञहरुले प्रदेश सरकार र केन्द्र सरकार कोरोना रोकथाममा उदासीन भएको कांग्रेस नेतृत्वलाई जानकारी गराएका थिए ।