क्रिकेटर भण्डारी दुर्घटनामा घाइते

धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी सवार मोटरसाइकल दुर्घटनामा परेका छन । शुक्लाफाटा नगरपालिका १० घर भएका भण्डारी तीब्र गतिका बलरका रुपमा स्थापित छन । उनी गृहजिल्ला कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका हुन् ।

कैलालीको धनगढीबाट महेन्द्रनगर जाँदै गरेको बेला उनलाई ट्रकले ठक्कर दिएको हो । भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

सन् २०१७ देखि क्रिकेट खेल्दै आएका भण्डारीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २८ वर्षीय भण्डारीलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

उनीसँगै दुर्घटनामा परेका २४ वर्षीय करन ठगुन्नाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । ट्रक स्थानीय प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने भागेको बताइउको छ ।