कोरोनाको उदगम स्थल वुहान शहरबाट पूर्ण रुपमा उडान सरु

एजेन्सी । कोरोनाभाइरस महामारीको उद्गम स्थलाका रुपमा चिनिएको चीनको वुहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडान सेवा शुरु भएको छ ।

वुहानमा गत वर्षको अन्त्यतिर कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि सो शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो ।

गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको वुहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ । आन्तरिक उडान नियमित हुन थालेका छन् । वुहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन पाँच वटा आन्तरिक उडानबाट ६४ हजार सात यात्रुले सेवा लिएको जानकारी दिए ।

यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर र नयाँदिल्ली जस्ता गन्तव्यमा शुरु भइसकेका छन् । चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

चिनियाँ अस्पतालमा हाल एक सय ५१ जनाको उपचार भइरहेको र तीन सय ५७ जनालाई आइसोलेसनमा राखिएको छ। चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार एक सय ८४ जना रहेका र त्यसमध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो ।