भेरीमा अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार सफल भएपछि स्वास्थ्यकर्मी उत्साहित

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार सफल भएको छ । यो सफलताले चिकित्सकहरुमा उत्साह थपेको छ ।

प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताए ।

भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ ।

उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ वर्षीय प्रवीण केसीमा प्लाज्मा थेरापी उपचार विधि सफल भएको हो ।

केसीलाई १२ भदौमा भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा भदौ १३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

निमोनिया भई स्वास्थ्य अवस्था झनझन बिग्रिँदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । केसी निको भएर आइतबार घर फर्किसकेका छन ।

कोरोना भाइरस सङ्क्रमितका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए ।