कुलमान घिसिङको पक्षमा नारायणकाजी श्रेष्ठ

काठमाडौं । आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । आजको बैठकमा सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, सरकारका प्रवक्ता नियुक्तिलगायत अख्तियार र राष्ट्रिय सभामा नेकपा नेता बामदेव गौतमको नाम सिफारिस सम्मका विषयमा निर्णय र छलफल गर्ने अनुमान गरिएको छ ।

चार वर्षे कार्यकालमा देशमा लोडसेडिङको समस्या समाधान गर्न सफल प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल आइतबार मात्रै सकिएको छ ।

आम जनस्तरबाटै घिसिङलाई दोहोर्याउनुपर्ने माग चर्को भइरहेका बेला सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि घिसिङकै पक्षमा देखिएका छन ।

प्रवक्ता श्रेष्ठले ट्वीटरमा आफ्नो विचार व्यक्त गर्दै घिसिङ नै पुनर्नियुक्त हुने विश्वास व्यक्त गरेका छन । उनको यो विचार आफ्नै पार्टी र पार्टी नेृत्वको सकारका लागि दवावका रुपमा समेत लिइएको छ ।

पार्टीको प्रवक्ताजस्तो व्यक्तिलाई को नियुक्त हुनसक्छ भन्ने जानकारी वा अनुमान नहुने भन्ने कुरै नहुने भएकाले उनको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले ट्वीटरमा लेखेका छन, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।’

श्रेष्ठले घिसिङको मुक्त कण्ठले प्रसंशा गर्दै लेखेका छन, ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।’

उनको यो अभिव्यक्तिले श्रेष्ठ आफ्नै सरकारको सम्भावित निर्णयप्रति जानकार छैनन वा विस्वस्त छैनन् ।